गान्तोक, १८ सितम्बर : भारतीय नेपाली समाजका प्रख्यात भाषा सङ्ग्रामी, वरिष्ठ साहित्यकार एवम् पत्रकार बुद्धिमान प्रधान ‘बमप’-को ९१ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको खबरले सम्पूर्ण नेपालीभाषी समाजमा गहिरो शोक छाएको छ। नेपाली साहित्य परिषद् सिक्किमले एक शोक वक्तव्य जारी गर्दै उनीप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गरेको छ।
खरसाङ महकुमाको सिङ्गेल चिया बगानमा ९ सितम्बर १९३५ मा जन्मिनुभएका प्रधानको १८ सितम्बर २०२६ का दिन निधन भएको हो। उनको वियोगले नेपाली भाषा, साहित्य र जातिले एक सच्चा अभिभावक तथा अग्रज व्यक्तित्व गुमाएको परिषद्ले जनाएको छ।
भारतीय नेपाली भाषा आन्दोलनका अग्रदूत भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषालाई समावेश गराउनका लागि भएको ऐतिहासिक सङ्घर्षमा बुद्धिमान प्रधान ‘बमप’ को योगदान अतुलनीय छ। भाषा मान्यताको आन्दोलनलाई मूर्तरूप दिन नेपाली साहित्य परिषद् सिक्किमको विशेष पहलमा सन् १९९० मा गान्तोकमा आयोजित राष्ट्रिय सम्मेलनबाट ‘भारतीय नेपाली राष्ट्रिय परिषद्’ को गठन गरिएको थियो। तत्कालीन सिक्किमका मुख्यमन्त्री नरबहादुर भण्डारीको अध्यक्षतामा गठित उक्त संस्थाको कार्यकारी अधिकारीको प्रमुख जिम्मेवारी सम्हाल्दै बमपले आन्दोलनलाई थप गतिशील बनाएका थिए।
भाषा आन्दोलनबारे जनचेतना जगाउन प्रकाशित राष्ट्रिय स्तरको मुखपत्र ‘आधार’-मा उनले कार्यकारी सम्पादकको रूपमा कुशल भूमिका निर्वाह गरेका थिए। पूर्वोत्तर राज्यलगायत भारतभर छरिएर रहेका नेपालीभाषी बुद्धिजीवी, लेखक तथा साहित्यकारहरूलाई एकै सूत्रमा बाँध्न उनको उल्लेखनीय योगदान रहेको थियो। यसअघि उनी ‘अखिल भारतीय नेपाली भाषा समिति’ को अभियानमा पनि सक्रिय रूपमा समर्पित थिए।
ऐतिहासिक कार्यहरूमा सक्रिय सहभागिता भारतीय गोर्खा परिसंघकी अध्यक्ष श्रीमती दिलकुमारी भण्डारीको नेतृत्वमा भारतीय संसद् भवन परिसरमा स्वतन्त्रता सेनानी एवं सहिद दुर्गा मल्लको शालिक स्थापना गर्ने ऐतिहासिक कार्यमा पनि बमपको भूमिका महत्त्वपूर्ण रहेको थियो। सन् १९८० को दशकमा दार्जिलिङमा सञ्चालित ‘माटोको आन्दोलन’ होस् वा नेपाली भाषा मान्यताको आन्दोलन, उनी सधैँ अग्रपङ्क्तिमा उभिएर निष्ठापूर्वक सक्रिय रहे।
पत्रकारिता र साहित्यिक योगदान साहित्य सिर्जनाका साथै पत्रकारिताको क्षेत्रमा पनि प्रधानको योगदान उत्तिकै प्रशंसनीय छ। उनले लोकप्रिय नेपाली दैनिक समाचारपत्र ‘सुनचरी’-लाई सफलताको शिखरमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। नेपाली साहित्यलाई धेरै उपयोगी कृतिहरू दिएर समृद्ध तुल्याउनुका साथै उनका कालजयी सुकर्महरूको सम्मानस्वरूप सिक्किममा ‘भानेराप-भागोप सेनानी बुद्धिमान प्रधान ‘बमप’ अभिनन्दन ग्रन्थ’ (अर्चना प्रकाशन, पूर्व लोकसभा सांसद दिलकुमारी भण्डारीको विशेष पहलमा) समेत प्रकाशित भइसकेको छ।
नेपाली साहित्य परिषद् सिक्किमले नेपाली भाषा र समाजका लागि बुद्धिमान प्रधान ‘बमप’ ले पुर्याउनुभएको योगदानको सधैँ उच्च मूल्याङ्कन गर्ने जनाएको छ। परिषद् दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ।
अनलाइन् खबर पत्रिका तथ्य जाँच र आचारसंहिता प्रतिवेदन:
यो सामग्री हाम्रा सम्पादक टोलीद्वारा तथ्य प्रमाणीकरण र प्रेस काउन्सिल अफ इन्डिया आचारसंहिता बमोजिम प्रकाशित गरिएको हो।